Shadow

राजाले ब्यूताएको संसद थिएन, काल थियो

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 87
  •  
  •  
  •  
  •  
  •  

काजी कार्की

२०१७ साल पुस १ गते महेन्द्रले ल्याएको पञ्चायतलाई ०४६ सालमा राजा वीरेन्द्रले अन्त्य गरेर बहुदलीय व्यवस्थाको सुरूआत गराइदिए । ३० वर्ष चल्यो पञ्चायत, पञ्चले शासन गरेको यो अवधिको जिम्मेवारी कसैले लिएन । कुनै पञ्चले पञ्चायत मरेकोमा शोक मनाएनन्, आशौच बारेनन् । रातारात पञ्चहरू बहुदलीय रङ्मा रङमगिनहुन थाले । पञ्चहरूको नैतिक पतनको यो श्रृंखला अन्तत: २०६५ साल जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकमा पुगेर उही भूगोलमा अर्के इतिहास कुँदियो । यसअघि नै धर्मनिरपेक्ष घोषणा गर्ने लोकतन्त्रवादीहरूले २०७२ साल असोज ३ गते संविधान मै धर्मनिरपेक्ष भनेर लेख्न सफल भए । न राजा रहे, न हिन्दुराष्ट्र रह्यो ? रह्यो त अतिवादीहरूले खोरिया बनाएर खुदेको नेपाल, देशभक्ति र स्वतन्त्रता हारेको नेपाल, बिखण्डन र बिभाजनमा पारेको नेपाल ।

२००७ साल र २०५८ सालमा दुईपल्ट राजा भएका ज्ञानेन्द्र शाह गणतन्त्रवादीका लागि अन्तिम राजा हुनपुगे । उनी नेपालमै छन्, नेपालीवीचमै छन । नागरिक भएर रहेका छन् । राजसंस्था किनारा भयो कि ? पुनर्जीवित हुन्छ ? यो प्रश्नमा विषद चर्चा जारी छ ।

रूकमांगद कटवालको ‘आत्मकथा’, विवेक शाहको ‘मैले देखेको दरबार छत्रमान सिंह गरुङको ‘जनताको छोरो, रमेशनाथ पाण्डेको राजनीति तथा आर.के मैनाली र अच्युतकृष्ण खरेलको पुस्तकले समेत दरवारलाई दोषी देखायो | तिनले आत्मप्रशंसा र मिथ्या धेरै लेखे

राजसंस्थाको समाप्ति भयो, जो राजसंस्थाका मूलथाम र निदाल कसैले जिम्मा लिएनन् । जिम्मेवारीवोध गरेनन् । आफू साखुल्ले बन्ने लेख्नु र दरवारलाई गलत देखाउनु, पदमा हुँदाका बखत सार्है मुछिएका यी पुस्तक लेखकका अभिष्ट बुझ्न सकिन्छ । यो देखेर ।

शायद ज्ञानेन्द्र शाहको छाती पोल्यो, मुटु दुख्यो र उनले सामाजिक सञ्जा लेख्न बाध्य भए- ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।’

_ मान्छे हो, ठेस लागेपछि ऐया त भन्छ, भन्छ । ज्ञानेन्द्र शाहको प्रतिक्रिया बाहिर आयो- ‘कहिलेकाहीं लाग्छ, किताव त म पनि लेखु । ज्ञानेन्द्र शाह जी शाहका नाममा कविता लेख्छन् । कवि हृदय त्यसै पनि भावमा डुब्छ । ज्ञानेन्द्र शाहको किताव लेख्ने कुराले उनी आगो ओकल्ल चाहन्छन् । उनले किताव लेखिहाले भने अन्तिम कि निरन्तर ? राजाको पुस्तक हुनेछ र ती आगोका अक्षरले कस-कसलाई कसरी डाम्ला, खरानी बनाउला, त्यो अहिलेलाई कल्पनामात्र गर्न सकिन्छ ।

कम्बोडियाका राजा नरोदम सिंहानुकलाई कम्युनिष्टले लघारे, उनी चीनमा शरण लिन पुगे । तिनै नरोदम सिंहानुकले भोगेका घटनाहरू सिआईएले पोलपोट नामधारी कम्युनिष्टलाई हतियार बनाएर कसरी नरसंहार गयो, कम्बोडियाको म्यूजियममा हेर्न सकिन्छ । सिंहानुकले पनि किताव लेखे- ‘माई वार विथ द सीआइए ।’ यही पुस्तकमा लेखिएको छ- ‘म बौद्धमार्गी भएकाले राजतन्त्र ढालियो ।’ के ज्ञानेन्द्रले पुस्तक लेख भने- ‘हिन्दु भएकाले, नेपाल समदूरीमा हिडाउन खोजेकाले, चीनलाई सार्कमा सदस्य बनाउन प्रयास गरेकाले, चीनबाट हतियार किन्दा, हिन्दुवाद र दरवार हत्याकाण्डमा दोषी देखाएर भारतले कम्यनिष्ट नामधारी नेपाली अनुहारका भारतीय एजेन्ट मार्फत हतियार प्रयोग गरेर राजतन्त्र सिधयायो लेख्लान ? पुस्तकमा सेनाका जर्नेलहरू भारत र माओवादीका सुराकी

बनेको र राजखलकको खलनायकी बृतान्त लेख्लान् कि नलेख्लान्  किन राजतन्त्र किनारा पारियो, अहिले आएर जनताले सबै बुझिसके। चीनका अन्तिम सम्राट पु यीले पाएजस्तो क्षमादान ज्ञानेन्द्रले पनि पाउन सम्छन । कम्बोडिया, थाइलेण्ड, बृटेनमा जस्तो इतिहास नेपालमा पनि दोहोरिन सक्छ । किनकि जनताको चाहना एकै नरहन सक्छ ।

बाहबलीहरू जसले बाहुबल नै प्रयोग गरेर हिन्दुराष्ट्र र राजतन्त्र सिध्याए | ज्ञानेन्द्र चुपचाप छन् । चीनका अन्तिम राजा आफनै मुलुकमा बगैचे भएर बसेका थिए भने नेपालका राजा ज्ञानेन्द्र शाह म विदेश भाग्दिन, नेपालमै बस्छु, यो मेरो जन्मभूमि हो, यही मेरो पहिचान हो भनेर मन्दिर मन्दिर पूजा गरेर बसेका छन् । सच्चा नागरिकको शिल्प देखाए उनले ।

ज्ञानेन्द्र शाहलाई निरंकुश भनियो, हत्यारा, राष्ट्रघातकसम्मको आरोप लगाए, तर राजा ज्ञानेन्द्रले जनआन्दोलनको १९औं दिनमा आफूलाई जनताको पक्षमा उभ्याए, जनताले खोजेको संसद ब्यूँताइदिए । संसद ब्यूँताउनु आत्महत्या हुन्छ भन्ने उनले सोचेका पनि थिएनन्, त्यही संसदमा परेड खेल्न पुगेका तत्कालीन आठ दलले अन्ततः संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र नेपाल घोषणा गरिदिए । साक्षी बस्न आएका तत्कालीन सत्तामा रहेको भारतीय कांग्रेस आईका प्रतिनिधि करण सिंहले समेत धोका दिए | आजसम्म उनले के सहमति भएको थियो, उजागर गर्नुपर्छ भन्ने कर्तव्य ठानेनन् । करण सिंह बेदान्ताचार्य रे ? यस्तै हुन्छन् बेदान्ताचार्य ?

ज्ञानेन्द्रका सल्लाहकार, सहयोगी कसैले राजा ज्ञानेन्द्रमाथि लागेका आक्षेपहरूको प्रतिवाद गरेनन् । तैपनि ज्ञानेन्द्र शाह नेपालमै छन्, नेपाली नै छन् र आमनागरिक नै छन् । ‘बाँच्नु नै छ भने बाँच नेपाली भई’ भन्ने गीत लेखेका ज्ञानेन्द्र शाह नेपाली भएर बाँचेका छन् । राजा भएर बाँच्नु र नेपाली भएर बाँच्नुको फरक उनलाई बढी ज्ञात भएको हुनुपर्छ ।

राजाबाट लाभ लिनेहरूको ताँती हूलमूलमा जीउ जोगाउने, सम्पत्ति बचाउने तौरतरिकामै लागे । क्रान्तिकारीहरूको ओढारमा पुगेर तिनले राजतन्त्रविरोधी चरीत्र देखाए । रमाइलो दृश्य के पनि रेकडमा छ भने दरवारले सुदूरपश्चिमबाट उठाएर पटक पटक प्रधानमन्त्री बनाएका लोकेन्द्र बहादुर चन्दले समेत संविधानसभाको पहिलो बैठकमा गणतन्त्रको पक्षमा टेबुल ठटाएको दृश्य ज्ञानेन्द्र शाहले कसरी हेरे होलान् ? अथवा

आत्मकथा लेख्ने रूकमांगद् कटवाल, छत्रमानसिंह गुरूङ् रमेशनाथ पाण्डे र बिबेक शाह जो दरवारका निकट कुन दिग्दारीमा परे होलान् ? मुख्य कुरो देशको ठुलो पदमा पुगेका यी महारथीहरूले लेखेको बृतान्त नैतिकताको कसीमा ठिक कि बेठिक ? यिनको लेखनीबाट भावी पुस्ताले, राष्ट्रले पाउने शिक्षा के ? पुस्चातकलाई रधाम बनाएर आफूलाई चोख्याउने निहित स्पवार्दथ भएकाहरुले आखिरमा पदमा पुग्न खाएको गोपनीयताको सपथको सीमासमेत नाघेरै देखाए

दरवार हत्याकाण्डपछि ज्ञानेन्द्र शाह राकजनीतिकज्ञहरु द्वारा गद्दीमा त थचारिए | उनलाई सहयोग गर्ने, साथ दिने मुखौटो धेरैभए पनि राजतन्त्रको जरा काट्ने बन्चरो उनकै निकटका बढी थिए । ज्ञानेन्द्र शाहबारे जनस्तरमा दरवार हत्याकाण्डका नाइके तिनै हुन भनेर जनतामा भ्रम पारियो । उनले छानबिन गर भनेर माधव कुमार नेपाललाइ नेतृत्व गर्न अनुरोध गर्दा हुन्छ भनेर फर्केका माधव नेपालले आधारातमा म बस्दिन त्यो समितिमा भनेर इन्कारी गरे । उनलाई कसले नबस्न भने छ ?

विदेशी कूटनीतिज्ञहरू त्यो बेलादेखि आजसम्म दरवार हत्याकाण्डबार चर्चा गर्छन्, तर ज्ञानेन्द्र शाहले नै गराएको भन्न सकिरहेका छैनन ? २०६३ सालपछि १२ सरकार बन्यो, ती क्रान्तिकारी-गणतन्त्रवादीले दरवार हत्याकाण्ड किन छानबिन गराएनन् ? तिनले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सक्थे, स्कटलेण्ड यार्ड बोलाएर अनुसन्धान गराउन सक्थे, गराएनन् ? आजसम्म पनि ज्ञानेन्द्र शाहमाथि दोष थोपरेर दुस्प्रचार गरिन्छ, अपराधीसरह हल्ला गरिन्छ, सत्य बाहिर ल्याउ भनेर कुनै गणतन्त्रवादी किन बोल्दैनन् । यदि अपराधी भएका भए ज्ञानेन्द्र शाह मेची महाकाली आरामले घुमिरहेका छन्, आमनागरिकसँग अन्तरक्रिया गरिरहेका छन् ? रहस्य पार्टीहरूभित्रै अन्तरकुन्तर कतै लुकेको छ

राजतन्त्र भार हो, यो भार बिसाउना साथ देश स्वर्ग बन्छ भन्ने हरुनै जनताको काउसो बन्न पुगे । राजालाइ सामन्त, निरंकुश भन्नेहरु नै आज अधिनायकवादी भएका छ १४ महिने शासनकालमा २६ जना मारिनासाथ राजा ज्ञानेन्द्रले जनतासामु सामु त्वम् शरणम गरे उनले गद्दी छाडेको १४ वर्षमा हजारौं मारिएका छन् । राजनीतिमा जनताप्रतिको जिम्मेवारी हुनुपर्छ भने परिवर्तनकारीमा नैतिकताहुनु पर्दैन ? ज्ञानेन्द्र शाह- ‘मीठो बाजा सुन्न पाइएन’ भनेर चित्त दुखाइरहेको देखिन्छ । कारण संघीय  गणतन्त्रले राष्ट्रिय एकता धुजा धुजा च्यातेको देखेर हो ।

ज्ञानेन्द्र शाहले किताब लेखे भने त्यो किताब नेपाली राजनीतिको इतिहास पार्टी राजनीतिको महाभारत पर्व नै साबित हुनेछ । २४० वर्षको नेपालको वीरगाथा कसरी मटियामेट पारियो, कस-कसको कुन कुन स्वार्थले के कस्तो भूमिका खेल्यो, इतिहास, राजनीति, संष्कार बुझने र युवापुस्ताले बिगतलाई हेर्ने ऐना हुनेछ । अझ भनौं देशको इतिबृतान्त देखिने दुरविन हुनेछ ज्ञानेन्द्र पुस्तक |

हयूमन इरर मान्छेमा हुने हो । ज्ञानेन्द्र शाहमा पनि कमजोरी छन् । उनी राजा बन्न तयार पारिएका व्यक्ति होइनन्, समयले उनलाई दोश्रोपटक राजा बनाइदियो र देशी विदेशी षडयन्त्रले राजतन्त्रलाई समयको अचानोमा तेर्सैदियो | हिन्दुराष्ट्र र राजतन्त्र काटियो | १९०३ को रक्तपातपूर्ण कोतपर्व थियो, यो संविधानसभा पर्व बन्यो । इतिहासमा अनेक देशहरूबाट जसरी राजतन्त्र हटाइयो, नेपाल पनि त्यस्तै चक्र पटाक्षेप बन्नपुगेको छ ।

स्मरणीय के पनि छ भने सुरू भएपछि अन्त हुन्छ । अन्त सत्य हो, सम्पूर्ण सत्य होइन, अन्तबाट फेरि सुरू हुनसक्छ । प्रकृतिको नियम हो यो । भनिन्छ, राजनीतिमा अन्तिम सत्य जिरो हो, प्रमुख सत्य सम्भाबना हो । त्यसैले राजनीतिमा कोही कसैको सदावहार दुश्मन अथवा सदावहार मित्र हुँदैन । यो आवश्यकताले तय गर्ने विषय हो ।

इतिहासका दुई घटना : बृटेनमा ओलिभर क्रमवेलले चार्ल्स प्रथमलाई गणतन्त्रवादमा च्वाट्टै काटे, तर ११ वर्षपछि राजतन्त्र फर्कियो, आजको समृद्ध बृटेन त्यही हो । स्पेनमा गणतन्त्र चाहियो भनेर राजतन्त्र उन्मूलन गरियो । अशान्ति र अराजकता जन्रमियो मुक्तिका लागि हुवाँ कार्लोसलाई गद्दीमा राखेर राजतन्त्रलाई एकताको सूत्रमा बाँध्नुपर्यो । आखिर एकताको सूत्र त चाहिने रहेछ । वर्तमान नेपालको अव्यवस्थाको हुण्डरी हेर्दा लाग्छ, गणतन्त्र त रहला, श्रीपेच सहितको गणतन्त्र आउन बेर छैन । किनकि संविधान दुर्घटनाग्रस्त भइसक्यो ।  १९०३ असोज २ गते कोतपर्व गराएका जंगबाहादुराले जनरल अभिमानसिंह, प्रधानमन्त्री फत्तेजंग, दलभञ्जन पाँडे सहित ४० जना चौतारिया, पाँडे, थापा, बस्न्यात खलकलाई भण्डारखाल गरेपछि जंगबहादुर दरवारको एक्लो सिंह बनेका थिए ।

२००७ सालमा श्री ३ सरकारको अन्त्य भएपछि सुरू भएको प्रजातन्त्र नेपालमा २०१५ सालमा आमनिर्वाचन सम्पन्न गरियो । आमनिर्वाचनमा कांग्रेसका सभापति वीपी कोइराला प्रधानमन्त्री बने । देशव्यापी रुपमा कांग्रेसले यति लुटपाट र आतंक मच्चायो कि रिस उठेकालाई सराप्दा तेरो घरमा कालो कांग्रेस पसोस् भन्ने उक्ति नै प्रचलनमा थियो । समयको बाध्नायता २०१७ साल पुष १ गते राजा महेन्द्रले कांग्रेस शासन समाप्त पारेर आफ्नो हातमा लिए, पञ्चायती व्यवस्थाको सूत्रपात गरिदिए ।

यो इख कांग्रेसीको मनमा खिल पल्टेर बसेको थियो । दरवार हत्याकाण्डपछि तत्कालीन संविधानअनुसार ज्ञानेन्द्र शाहलाई गद्दीमा राखेर कांग्रेस, कम्युनिष्ट सबैले मोहर राख्दै ढोग गर्दै गरेका थिए । मान्यता दिएका पनि हुन् । जनयुद्ध जारी थियो, जनयुद्धको सशस्त्र शक्तिसँग दिल्लीमा १२ बुंदे सम्झौता गराइयो । त्यसपछि लडाकुसहितको जनआन्दोलनको कुइरीमण्डल आँधीबेहरी सिर्जना हुनपुगेको हो । राजा ज्ञानेन्द्र झुके, संसद पुनर्स्थापित गरिदिए । २०६३ साल बैशाख ११ गतेको राति राजतन्त्र सहित अघि बढ्ने सहमति भयो । यो राजनीतिक सहमतिको साक्षी किनारामा दिल्लीका प्रतिनिधि करण सिंह बसेका थिए । त्यसपछि माओवादी चुनावै नलडी एमालेको समानान्तर शक्तिका रूपमा संसदमा प्रवेश गयो र आठ दलकावीच सहमति भयो- संविधानसभाको निर्वाचन गर्ने, संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गराउने ।

यसअघि नै हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र भनेर प्रचारमा ल्याइसकेका दलहरू निर्वाचनमा गए ।माओवादीले प्रचण्ड बहुमत ल्यायो र चुनाव हारेका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत तत्कालीन प्रधान गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको प्रस्ताव संविधानसभामा टेबुल गराए |

जुन प्रस्तावलाई ६०१ को संविधानसभामा उपस्थित ५६४ मा राप्रपा नेपालका ४ सदस्य बाहेक सबैले टेबुल ठोकेर पास गरे । सभाध्यक्ष थिए कांग्रेसकै बृद्ध नेता कूलबहादुर गुरूङ । यसरी २०१७ सालको बदला २०६५ साल जेठ १५ गते कांग्रेसका

सभापति गिरिजाप्रसाद कोइरालाले, कांग्रेसकै प्रस्तावमा, कांग्रेसकै सभाध्यक्षको बैठकबाट लिन सफल भए । कांग्रेसको रिस मर्यो होला फाइदा भयो कम्युनिष्टलाई । संविधान जारी भएर २०७४ को निर्वाचनमा कांग्रेस सिद्धान्त, नीति, नेतृत्व सबैतिर रित्तो भाँडो हुनपुग्यो | शेक्सपियरले लेखेका छन्- काखमा राखेर राजा डंकनको हत्या गरेका राजाकै विश्वासपात्र म्यागबेथलाई भविष्यवेत्ताहरूले भनेका थिए- you will meet your death by the sword of one who is of unnatural birth and comes like a moving forest, that is day of your end. नभन्दै म्यागवेथको हत्या अप्राकृतिक जन्म अर्थात आमाको कोख चिरेर जन्मेका म्यागडसको हातबाट हुनपुग्यो | गिरिजाले वीपीको सिद्धान्त गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्ने सपना साकार पार्न प्रचण्डमा समर्पण गर्दा न उनी राष्ट्रपति बन्न पाए, न सिद्धान्तबाट लडेको कांग्रेसलाई उठाउन सके | यही पीरव्यथाले उनको देहान्त हुनपुग्यो |

यसअघि राजतन्त्र रहने कि नरहने, संविधानसभाको पहिलो बैठकले के गर्ला, कसो गर्ला भन्ने उत्सुकताको तापक्रम बढ्दै थियो । मियामी युनिभर्सिटीका प्राध्यापक जनार्दन सुवेदीलाई राजा ज्ञानेन्द्रबाट बोलावट भयो । लामो छलफल सकिएपछि निकास के छ ? भन्ने प्रश्नमा सुवेदीले रिसानी माफ होस् भन्दै ३ उपाय सुझाएको गोरखा एक्सप्रेसलाई बताएका थिए । पहिलो मित्रराष्ट्र मिलाउन सकिन्छ भने कथित जनआन्दोलनलाई लतारेर लानुपर्छ । जनताको अधिकार जनतालाई दिनुपर्छ । दोस्रो सकिन्न भने त्वं शरणम् गर्नुपर्छ । तेश्रो- चुपचाप राजगद्दी छाडेर हिड्नुपर्छ, जनतालाई चाहिए ल्याउन सक्छन् । समय बलवान हुन्छ । कुनै सुझाव राजा ज्ञानेन्द्रले मानेनन्, संसद ब्यूँताइदिए | ब्यूँतेको संसद थिएन, काल थियो, २०६५ साल जेठ १५ गते संविधानसभामा राजतन्त्रको अन्त्य गरियो।

गल्ती कांग्रेसबाट भयो, दबदबा भारतीय प्रभावको भयो, राजसंस्थाको के के कमजोरी रह्यो भन्ने विषय इतिहासमा लेखिएला । बिगत १५  वर्षमा के प्रष्ट भयो भने अर्काको मानो खानेहरू देशको छानो बन्न सकेनन ।

२०६५ साल जेठ १५ गतेबाट संघीय गणतन्त्र नेपाल बन्यो । श्री ५ को सरकारको स्थानमा नेपाल सरकार लेखिन थाल्यो । राष्ट्रिय गान फेरियो। नेपालको नाम र झण्डासमेत फेर्ने सुझाव आए, ती सुझाव कार्यान्वयन हुनसकेन । अहिले गाई किन राष्ट्रिय जनावर, बाहुनक्षेत्रीको जगजगी भन्ने नयाँ बखेडा झिकिएको छ । आजसम्म पनि यो नागरिक सरकार, गणको सरकार हो भन्ने अनुभूति गर्न पाएनन् लोकले |

यही प्रसङ्गमा ज्ञानेन्द्र शाहले एभिन्यूज टीभीलाई अन्तरवार्ता दिदै भनेका थिए- ‘राजतन्त्र समाप्त भइसकेको छ जस्तो लाग्दैन । देशको इतिहासका पाना पल्टाएर हेर्दा राजतन्त्र माथि जाने, तल आउने, भित्रिने, बाहिरिने भइराछ । जनताले नै यो कुरामा जे निधो गर्छन्, त्यो सबैले मान्नुपर्छ ।’ सत्य बोले तर यो सत्य ठूला नेता मान्न तैयार छैनन् ।

ज्ञानेन्द्र शाहको यो तर्कलाई भाते पाठशालामा पढेका विद्वान कांग्रेसी नेता रामचन्द्र पौडेलले त्यतिबेलै दिवा सपना भनेर टिप्पणी गरेका थिए । पछिल्लो गणतन्त्र दिवसका दिन सैनिक मञ्च टुंडिखेलबाट तत्कालिन प्रधानमन्त्री केपी ओलीले मन्दिर धाएर राजतन्त्र फर्किदैन, म निम्तो लिएर आउँछु, आउनोस् गणतन्त्र दिवसमा सामेल हुन भन्ने टिप्पणी गरे । स्मरणीय छ, ओली तिनै नेता हुन्, जसले देशलाई ठूला ठूला सपना देखाइरहेका छन् । प्रचण्ड जनवादको सपना देखाएर दिल्लीवादमा टुङ्गिन पुगे, केपी ओलीको सपना पनि दिल्लीमुकामतिरै लस्केको देखिदैछ ।

गणतन्त्र कार्यान्वयन सुरू भयो । एउटा इतिहासमा पूर्णविराम लाग्यो, इतिहासको अर्को अध्याय सुरू भयो । गम्भीर विमारीको चिरफारपछि कि सन्चो हुनसक्छ कि मान्छे सिद्धिन्छ । सन्चो हुने र संक्रमित हुने खतराका वीचको समय संक्रमण काल हो । संक्रमणको व्यवस्थापनमा अलिकति तलमाथि भयो भने पुरानो इतिहासको अन्त्य र नयाँ इतिहासको सुरूआतको मध्यमा जे पनि त हुनसक्छ । नेपाल यही ज्वारभाटाको मझधारमा डोलायमान छ । सुरूआत अन्त्य हुनसक्छ, अन्त्यपछि सुरूआत पनि हुनसक्छ

लोकतन्त्र  स्वादिलो शब्द छ, शब्दअनुसारको मरमसला नमिलेकाले नुनाबिनाको तरकारीजस्तो खल्लो लागिरहेको छ । आमनागरिकले जनाधार सम्बोधन गर्ने इस्पाते धारिलो राजनीति खोजेका थिए, नेताले खुट्टा लरबराइरहने भएकाले लोकतन्त्र लड्ने, पछारिने पद्धति बन्दैछ।

एउटा तन्त्र सकियो, अको तन्त्र ल्याइयो । विहान भयो कि रात पर्यो

विपना रहन्छ कि सपना साबित हुन्छ, हिन्दुराष्ट्र र राजतन्त्र दुबै फर्कन्छ फर्कन्न, कसले भन्न सक्छ र ? विश्व इतिहासमा थाइलेण्डदेखि बेलायतसम्म राजतन्त्र फर्केका छन्, नेपालको इतिहासमा घटनाक्रम पनि नदीजस्ता बाङ्गाटिङ्गा देखिन्छन् । बिर्सनु हुन्न, १२ वर्षमा खोलो फर्कन्छ भन्ने मान्यता भएको मुलुक हो नेपाल | अचम्मको आन्दोलन । प्रजातन्त्रवादी र आतङककारी मिले, जसले मिलाओस्, मिल्ने र मिलाउनेले जनतालाई आन्दोलित पारे । जनयुद्धको आतंक र राजनीतिक अराजकताले आजित जनता शान्ति खोजिरहेका थिए, अशान्तिको जड, सामन्तको जरो, जनविरोधी तत्व भनेकै राजतन्त्र हो भनेर यसरी तुफानी, सुनामी बनाइयो कि त्यसपछि ब्यूँतेको संसदले हिन्दुधर्म कलमी गर्यो, अनि राजतन्त्रको माकुराले माकुरो खायो, राजाको दीव्यशक्तिले ब्यूँतेको संसदले राजतन्त्ररूपी सुदर्शनचक्र स्वात्तै निलिदियो ।

चाणक्य नीति भन्छ- जुन देशका राजा त्यस देशका जनताको मानसिकता र स्तर अनुसार आफूलाई ढाल्न र चल्न सक्दैनन्, जनताको मानसिकताभन्दा अगाडि बढेर अथवा पछि परेर आफूलाई कृयाशीलताको प्रयत्न गर्ने गर्छन्, ती असफल हुन्छन् । बाउको जुत्ता लगाउन खोज्दा बच्चा लडेझै राजतन्त्र भारोयुरोपियनको घट्टको घानमा पर्यो ।

गाउँ गाउँबाट आफु सँग जे छ त्यही हातमा लिएर उठे जनता । केही पनि नहुनेहरू आवाजरूपी नाराबाजी गर्दै उठेका थिए । यो आवाजलाई सुन्नु राष्ट्राध्यक्षको कर्तव्य थियो । २१औं शताब्दीको सुन्ने, देख्ने र बोल्ने राजसंस्थाले जनताको यो आवाजलाई नसुनेझै गरेर बस्न मिल्दै मिल्दैनथ्यो । जनता किन यसरी आन्दोलित भए भन्ने कारण पत्ता लगाएर निराकरणतिर पाइला चाल्न राजसंस्थाको जिम्मेदारी थियो । मुलुक दनदनी बलिरहेको, सडक तातिरहेको, जनता कराईरहेका छन, सत्ताको जिम्मेवारी  पाएकाहरू के मतलव भनेर राज्य संचालन गरेजस्तो गरिरहेका यो अवस्था मामुली हो भनेर राष्ट्राध्यक्षले मान्नु हुँदैनथ्यो । चाकरीवाजहरुले चढाएको ‘सबै ठीक छ सरकार’ भन्ने जाहेरीको भर पर्दा अन्ततोगत्वा हानि राजसंस्थाको भयो, देशले धेरै कुरा गुमायो ।

०३६  साले युवाहरू ०४६ सालमा बालिग भएका थिए, नहुर्कदै थिए । निश्चय नै यी दुई पिंढीले ज्यादा स्वतन्त्रताको र इमान्दारिता र जिम्मेदारीको चाहना पनि राख्छ । समयको जो चल्न सक्दैन, त्यसलाई समयले कहिले पनि पर्खदैन । बलवान कोही पनि छैन । संविधानमा बसेको भनेर राजनीतिक सम उकल्च्याउनाले दोख राजसंस्थाले नै सहनुपर्यो । २०६५ साल जेठ १५ गतेको दिन एउटा इतिहासको अन्त्य, अर्को इतिहासको सुरू भयो । ज्ञानेंद्र  दी लास्ट किंग अफ दी कन्ट्री भनियो | सत्य यही हो कि निरन्तरता बाँकी छ ?

निश्चय नै राजसंस्था नेपालीको आस्थाको धरोहर हो | राजसंस्थालाई केही व्यक्तिले घेरेर राखे । शक्तिको करिडरमा बस्ने स्वार्थी, अवसरवादीहरूले राजालाई यसरी ‘नांगो राजा’को अवस्थामा पुऱ्याइदिए कि स्वयं राजाले यो अवस्थामा पुगिन्छ भन्ने हेक्का राखेकै थिएनन् । शक्तिको ढोका चहार्ने र चाकरी गर्नु आफ्नो योग्यता ठान्ने तत्वहरूले राजाको शासनलाई यसरी मण्डलेकरण गरिदिए कि राजाप्रति आस्था राख्ने ठूलो जमात समेत निराशा र उत्तेजनामा पुग्यो । गलत सल्लाहकारको घेरावन्दीले कुन हदसम्मको क्षय हुन्छ, यसको उदाहरण हो नेपालको राजतन्त्र, हिन्द राष्ट्र नेपाल | यो शिक्षा लोकतान्त्रिक नेताहरूका लागि मार्गदर्शक हुनसक्छ ।

गोरखा एक्सप्रेसले ०६३ साल वैशाख ५ गते विशेष सम्पादकीय यसरी लेखेको थियो- नेपाली राजनीतिको वर्तमान कालखण्ड राजतन्त्र लागि उल्कापातको समय हो । यो उल्कापात जुनसकै बेला शाहबंस को टाउकामाथि चट्याङ पर्नसक्ने संभावना छ । अझै समय छ, राजा स्वार्थी घेराबन्दीबाट बाहिर निस्केर ‘जनताको राजा’हुने चाहना राख्ने हो र चेष्टा गर्ने हो भने नेपाली नसा नसामा रहेको राजसंस्थाप्रात कायम रहनसक्छ | बिखण्डित हुन लागेको बिभाजित भएर गएको, विदेशी |

हस्तक्षेप र हैकमले खान लागेको, नेपाली जनतालाई मीठो सपना देखाएर  लुट्न लागेको अवस्थाबाट नेपाल र नेपालीलाई जोगाउन हिम्मत, साहस, आँट, अवधारणा, विचार र कार्यक्रमले बाँध्न सक्ने अवस्था छ । यो अवस्थालाई पूँजीकरण गर्ने नगर्ने, वरिपरिको घेराबाट निक्लने चाहना राख्ने नराख्ने निर्णय राजाले गर्ने हो । हामी देशप्रेमा, एकताको प्रतीक राजसंस्थाको पक्षमा छौं, राजाबाट राष्ट्रवादको झन्डा उठाएको हेर्न चाहान्छौ

And the last king of the country को दुर्भाग्य नेपालीले भोग्नु नपरोस्, नेपालीले पनि चीरकालसम्म रगतको आँसु रूनु नपरोस् भन्ने कामना गछौँ ।


जय मातृभूमि 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

1 Comment

  • विराज भट्ट

    हजुर को लेख पढिसके पछि वास्तविकता आखिर के त? भविष्य कस्तो हुनेछ? नेपाली आम जनमानस के चाहन्छ? आखिर विभिन्न काल खण्डमा नेपाल अधिराज्य भित्र भएका कथित परिवर्तन का नाममा वैदेशिक संयन्त्र का चलखेल हरु बाट आम जनता ले के पाए, के सिके या सिक्दै सिकेनन्? अझै पनि नेपाली मानसपटलमा वौद्दिक क्षमता को विकास भएको छैन? आखिर के चाहन्छ्न् जनता? किन मौन छ नेपाल? अन्ततोगत्वा के नेपाल को स्वाभिमान , अखण्डता , सार्वभौमिकता , सत्यनिरूपण , सनातन, पुरातन, धर्म, संस्कृति , सामाजिक स्थायित्व , मौलिकता आदि शब्दमा नै सिमित रहने हुन् त? किन यो अहंकारी, खोक्रो राष्ट्रवाद को खोल बाट बाहिर आउन सकिरहेका छैनन् नेपाली? किन?समय आएको छ, अतीत भन्दा पनि बलवान् भएर बदला अवश्य लिनेछ्🙏जय मातृभुमि🇳🇵🙏

Leave a Reply

Your email address will not be published.