Shadow

कोरोना भाइरस चमेराबाट सर्‍यो कि चीनको प्रयोगशालामा विकास गरियो ?

सामाजिक संजालमा पनि राख्नुहोस् !
  •  
  •  
  •  
  •  
  •  
  •  

अमृत शर्मा

कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ?

गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो। उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि महामारीको उत्पत्ति पत्ता लगाउने अभियानमा सहकार्य गर्न यही जेठ १२ गते आफ्ना अनुसन्धान निकायहरूलाई निर्देशन दिएका छन्। यसबारे ९० दिनभित्र रिपोर्ट बुझाउनू भन्ने अमेरिकी राष्ट्रपतिको निर्देशन छ। अस्ट्रेलिया, युरोपेली समुदाय र जापानले पनि यसबारे गहन अनुसन्धानको माग गर्दै आएका छन्।

अधिकांश वैज्ञानिकहरू कोभिड महामारी फैलाउने ‘सार्स–सिओभी–२’ भाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको र जनावरबाट मान्छेमा सल्केको विश्वास गर्छन्। यति हुँदाहुँदै प्रयोगशालामा विकास गरिएको हुनसक्छ भन्ने शंकालाई पनि नकार्न सकिँदैन। यसलाई पुष्टि गर्न धेरैले चीनको ‘वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी’ नामक संस्थामा गहिरो छानबिन गर्नुपर्ने बताउँदै आएका छन्।

विभिन्न प्रजातिका कोरोना भाइरसको अध्ययन–अनुसन्धान गर्ने यो संस्था चीनको वुहान सहरमै छ। वुहान त्यही ठाउँ हो, जहाँबाट कोभिड–१९ महामारीको सुरूआत भएको थियो।

चीनले कोभिड–१९ महामारीसम्बन्धी धेरै सूचना सार्वजनिक नगर्नुले पनि शंकालाई बल पुर्‍याएको छ। उदाहरणका लागि, चिनियाँ सरकारले महामारीका सुरूआती दिनहरूमा यससँग सम्बन्धित महत्वपूर्ण जनस्वास्थ्य तथ्यांक लुकाएर राखेको थियो। यसअघि सन् २००२–०४ मा सार्स फैलिँदा पनि तथ्यांकहरू गोप्य राखिएका थिए।

वैज्ञानिक खोजका नयाँ-नयाँ प्रतिवेदनहरू सार्वजनिक गर्ने र त्यसबारे समाचार लेख्ने अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ ले हालै कोरोनाको उत्पत्तिबारे लामो लेख प्रकाशन गरेको छ। उक्त लेखमा यो भाइरस चिनियाँ प्रयोगशालामा विकास गरिएको हुन सक्ने र हुन नसक्ने आधारहरू विस्तारमा वर्णन गरिएका छन्। हामीले ‘नेचर’ मा प्रकाशित उक्त लेखको भावानुवाद गरेका छौं।

‘नेचर’ का अनुसार यो भाइरस प्रयोगशालामा विकास गरिएको हो भनेर पुष्टि गर्ने उल्लेखनीय वैज्ञानिक आधार फेला परेको छैन। तै पनि वैज्ञानिकहरू किन यो कुरा बारम्बार उठाउँछन् त? किनभने, वैज्ञानिकहरूसँग यो भाइरस प्रयोगशालामा विकास गरिएको होइन भनेर पुष्टि गर्ने आधार पनि केही छैन। जनावरबाट मान्छेमा सरेको हो भनेर प्रमाणित गर्ने पर्याप्त आधार पनि पाइएको छैन।

धेरै सरूवारोग विशेषज्ञहरू सार्स–सिओभी–२ भाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको हो भन्नेमा मोटामोटी सहमत छन्। यो चमेराबाट सिधै मानिसमा सरेको हुनसक्छ वा कुनै अर्को जनावरमा सरेर त्यसपछि मान्छेलाई संक्रमण भएको हुनसक्छ भन्ने उनीहरूको मत छ।

विगतमा एचआइभी, इन्फ्लुएन्जा र इबोलादेखि सन् २००२ को सार्स र २०१२ मा फैलिएको मर्स लगायत अधिकांश सरूवारोग प्राकृतिक रूपमै उत्पत्ति भएको अनुसन्धाताहरूको भनाइ छ।

उनीहरूले यो त्यसै भनेका होइनन्। प्राकृतिक उत्पत्तिको अवधारणालाई सहयोग गर्ने केही आधार छन्।

चमेरामा प्राकृतिक रूपले नै कोरोना भाइरस हुन्छ भन्ने पुष्टि भइसकेको छ। चीनको दक्षिणी प्रान्त युनानमा पाइने चमेरामा पहिलोचोटि कोरोना भाइरस फेला परेको थियो। उक्त भाइरसको प्रकृति सार्स–सिओभी–२ सँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको अनुसन्धाताहरूले पत्ता लगाएका छन्।

यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने, चमेरामा पाइएको र मानिसमा सल्केको कोरोना भाइरस दुवै शतप्रतिशत समान छैन। यी दुई भाइरसबीच ९६ प्रतिशत मात्र समानता छ। यसले देखाउँछ, जुन कोरोना भाइरस मानव समुदायमा फैलियो, त्योसँग सबभन्दा नजिकको नातेदार त्यही चमेरामा पाइएको भाइरस हो वा अर्कै कुनै छ भन्ने अहिलेसम्म प्रस्ट छैन। यसले कतै यो भाइरस प्रयोगशालाबाट सल्केको त होइन भनी शंका गर्ने आधार दिन्छ।

हुन त प्रयोगशालाबाट निस्केका भाइरसले यति ठूलो महामारी कहिल्यै ल्याएको थिएन। तै पनि त्यसले महामारी ल्याउनै सक्दैन भन्ने चाहिँ होइन।

यसअघि प्रयोगशालामा विकास गरिएको भाइरसले सानो स्तरको भए पनि सामुदायिक प्रकोप निम्त्याएको उदाहरण छ।

सन् २००४ मा चीनमा एउटा घटना भएको थियो। त्यति बेला बेइजिङको भाइरोलोजी प्रयोगशालामा काम गर्ने दुई जना अनुसन्धाताहरू सार्स भाइरसबाट संक्रमित भएका थिए। सार्स रोगमाथि अनुसन्धान गर्ने क्रममा उनीहरूलाई त्यो भाइरस सल्केको थियो। ती दुई अनुसन्धाताबाट अन्य सात जनालाई संक्रमण भयो।

अब हामी यो कोरोना भाइरस प्रयोगशालाबाटै फैलिएको हो भनेर शंका गर्ने आधारहरूबारे चर्चा गरौं।

कोरोना भाइरसमाथि अनुसन्धान गरिरहेका वैज्ञानिकले जनावरबाट भाइरस संकलन गरेर प्रयोगशालामा राखेका हुन सक्छन् वा उनीहरूले प्रयोगशालाभित्रै यस्तो भाइरस विकास गरेका पनि हुन सक्छन्। अनुसन्धान क्रममै प्रयोगशालामा काम गर्ने व्यक्तिलाई दुर्घटनावश भाइरस सल्केको हुन सक्छ वा नियोजित रूपमा संक्रमण भएर महामारीका रूपमा फैलिएको हुनसक्छ। हुन त यी आधार पुष्टि गर्ने कुनै प्रमाण छैन, तर सम्भावना हुँदै नभएको होइन।

सार्स–सिओभी–२ भाइरस प्रयोगशालामा विकास गरिएको शंका गर्नेहरूले मुख्यतया पाँचवटा तर्क दिन्छन्।

पहिलो तर्क छ, महामारी सुरू भएको झन्डै डेढ वर्ष बितिसक्दा पनि यो भाइरससँग सबभन्दा नजिकको नातेदार कुनै जनावरमा फेला परेको छैन। यसको कारण के होला?

दोस्रो, कोरोना भाइरस सबभन्दा पहिला चीनको वुहानमा भेटिनु र यो भाइरसमाथि अनुसन्धान गरिरहेको संस्था पनि वुहानमै हुनु के संयोग मात्र हो?

तेस्रो, यो भाइरसमा केही यस्ता असामान्य गुणहरू छन्, जुन प्राकृतिक रूपले उत्पन्न भएको भाइरसमा विरलै हुन्छ। यस्तो असामान्य गुण प्रयोगशालामा कृत्रिम रूपले उत्पादन गरिएका भाइरसमा हुने सम्भावना बढी हुन्छ।

चौथो, सार्स–सिओभी–२ भाइरस मानिसहरूमा यति सजिलै सर्छ, मानौं मानिसलाई संक्रमित पार्ने उद्देश्यले नै यसको विकास गरिएको होस्।

पाँचौं, वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका अनुसन्धाताले सन् २०१२ देखि २०१५ को बीचमा चीनको एक प्रयोगविहीन खानीमा बस्ने चमेराहरूबाट कोरोना भाइरसको नमूना संकलन गरेका थिए। त्यही नमूना प्रयोगशालामा ल्याएर उनीहरूले सार्स–सिओभी–२ भाइरस विकास गरेका त होइनन्?

यी तर्कहरूबारे सरूवारोग विशेषज्ञ तथा जीव वैज्ञानिकहरूको भनाइ के छ त?

के साँच्चै सार्स–सिओभी–२ भाइरस फैलाउने कुनै जनावर अहिलेसम्म फेला परेको छैन?

कुनै पनि महामारीको उत्पत्ति कसरी भयो भन्ने पत्ता लगाउन वर्षौं लाग्छ। कतिपय अवस्थामा त खास कारण कहिल्यै पत्ता लाग्दैन। सार्स रोग चमेरामा पाइने भाइरसबाट सल्केको हो भन्ने १४ वर्षपछि पुष्टि भएको थियो। इबोला भाइरस कुन जनावरबाट फैलिएको भन्ने अहिलेसम्म यकिन छैन।

भाइरसको स्रोत थाहा पाउन वैज्ञानिकहरूले त्यो खास प्रजातिको भाइरस बोकेर हिँड्ने सही जनावर यकिन गर्नुपर्छ। यो सजिलो काम होइन। जनावरमा पाइएको भाइरसलाई मानिसमा पाइएको भाइरसको गुणसँग दाँजेर हेर्न पनि निकै गाह्रो हुन्छ।

यस्ता कठिनाइका बाबजुद वैज्ञानिकहरूले कोभिड–१९ सुरू भएयता यसको उत्पत्ति पत्ता लगाउनमा केही सफलता पाएका छन्। दक्षिणी चीनको युनान प्रान्तमा पाइने चमेरामा भेटिएको कोरोना भाइरसको प्रकृति सार्स–सिओभी–२ सँग धेरै हदसम्म मिल्दोजुल्दो छ भन्ने वैज्ञानिकहरूको प्रतिवेदन त्यसैमध्ये एक हो। 

यो भाइरस सार्ने जनावर पत्ता लगाउन चीनका अनुसन्धाताले ८० हजारभन्दा बढी जंगली तथा घरपालुवा जनावर परीक्षण गरेका थिए। ती कसैमा सार्स–सिओभी–२ पोजेटिभ पाइएन। तर, यो संख्या चीनमा रहेका जंगली तथा घरपालुवा जनावरहरूको सानो अंश मात्र हो। 

भाइरस ओसार्ने जनावर यकिन गर्न अझै गहन अनुसन्धानको खाँचो भएको वैज्ञानिकहरू बताउँछन्। यस निम्ति संक्रमणको बढी सम्भावना भएका र मान्छेको सम्पर्कमा आएका जनावरलाई अरूबाट छुट्टयाउनुपर्नेछ। साथै, ती जनावरमा एन्टिबडी परीक्षण गरेर सार्स–सिओभी–२ संक्रमण भए–नभएको पत्ता लगाउन सकिन्छ।

के कोभिड महामारी वुहानबाटै फैलिनुले पनि शंका बढाउँछ?

भाइरसमाथि अनुसन्धान गर्ने संस्थाले आफू वरिपरिका क्षेत्रमा पाइने भाइरसमा विशेषज्ञता हासिल गर्ने प्रयास गर्छ। वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीलाई कोरोना भाइरसको अनुसन्धानमा दक्ष मानिएको छ, किनभने चीनका विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका कोरोना भाइरस पाइएका छन्।

‘जब कुनै ठाउँमा नयाँ रोगको प्रकोप फैलिन्छ, त्यहाँ वरिपरि त्यो प्रजातिको भाइरस अनुसन्धान गर्ने प्रयोगशाला हुने सम्भावना ९० प्रतिशत हुन्छ,’ रकी माउन्टेन ल्याबोरेटरिजका भाइरल विशेषज्ञ भिन्सेन्ट मन्स्टर भन्छन्।

उनी आफ्नो कुरा पुष्टि गर्न एसियाको इन्फ्लुएन्जा प्रयोगशालादेखि ल्याटिन अमेरिकाको डेंगी भाइरस प्रयोगशालासम्मको उदाहरण दिन्छन्।

यही आधारमा चीनको वुहानबाट कोरोना संक्रमण फैलिएकोमा वैज्ञानिकहरू आश्चर्य मान्दैनन्। एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको वुहान यस्तो ठाउँ हो, जहाँ प्राकृतिक रूपले नै कोरोना भाइरस पाइएको छ। यहाँका विमानस्थल, रेल्वे स्टेसन र बजारबाट भाइरस संक्रमण हुने सम्भावना धेरै नै हुन्छ। सँगसँगै, वुहानबाट देशका विभिन्न स्थानमा वन्यजन्तु ओसारपसार हुने भएकाले कोरोना भाइरस संक्रमणको सम्भावना बढी छ।

के यो भाइरसमा त्यस्तो गुण छ, जसले प्रयोगशालामा विकास गरिएको हो भन्ने आधार दिन्छ?

सार्स–सिओभी–२ भाइरस प्रयोगशालामा विकास गरिएको हो कि होइन भन्नेबारे थुप्रै अनुसन्धाताले खोजी गरिरहेका छन्। यस्तो अनुसन्धान गर्ने पहिलो टोलीको नेतृत्व क्यालिफोर्नियाका भाइरोलोजिस्ट क्रिश्टियन एन्डरसनले गरेका थिए।

उनले कोरोना भाइरस प्रयोगशालामा विकास गरिएको हो भनी प्रमाणित गर्ने विशिष्ट आधार नभएको ठहर गरेका छन्। 

केही व्यक्तिले भने सार्स–सिओभी–२ भाइरस मानव कोषमा सजिलै प्रवेश गर्न सक्ने हुँदा यो गुण प्रयोगशालामै विकास भएको हुनसक्ने शंका गरेका छन्। यही प्रजातिका अन्य कोरोना भाइरसमा यस्तो गुण नभएको उनीहरूको भनाइ छ।

वैज्ञानिकहरू भने यसमा सहमत छैनन्। धेरै खालका कोरोना भाइरसमा मानव कोषभित्र सजिलै प्रवेश गर्ने गुण भएको उनीहरूको भनाइ छ। खासगरी रूघाखोकी गराउने भाइरस पनि सजिलै मानव कोषमा प्रवेश गर्ने वैज्ञानिकहरू बताउँछन्। 

के सार्स–सिओभी–२ भाइरस महामारीका रूपमा फैलिन सक्ने गरी प्रयोगशालामा विकास गरिएको साँचो हो?

धेरै वैज्ञानिकले यसलाई झूटो भनेका छन्। कुनै पनि भाइरस मानव समुदायभित्र महामारीका रूपमा फैलियो भन्दैमा त्यही उद्देश्यले विकास गरियो हो भनेर प्रमाणित नहुने वैज्ञानिकहरूको भनाइ छ। 

मानव समुदायमा प्रवेश हुनुअघि चमेरा लगायत विभिन्न जनावरहरूमा यो भाइरस फैलिसकेको अनुसन्धानले देखाएको छ। अझ सुरूमा त यो मानव समुदायमा खासै छिटो फैलिएको थिएन। जब भाइरसका नयाँ नयाँ प्रकार विकास हुँदै गए, तब यसको संक्रमण दर पनि बढ्दै गयो।

उदाहरणका लागि, गत वर्ष चीनको वुहानमा देखिएको सार्स–सिओभी–२ को दाँजोमा यसपालि भारतमा फेला परेको भाइरस (बी.१.६१७.२ वा डेल्टा) को संक्रमण दर उच्च छ। पछिल्लो एक वर्ष अवधिमा भाइरसको प्रकृति परिवर्तन हुँदै गएकाले यसको संक्रमण क्षमता बढेको वैज्ञानिकहरू बताउँछन्।

के अनुसन्धाताहरूले सार्स–सिओभी–२ भाइरस खानीबाट संकलन गरेका हुन्?

जब चीनका केही खानीमा काम गर्ने मजुदरहरू श्वासप्रश्वासको समस्याले बिरामी परे, तब वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीले सन् २०१२ देखि २०१५ बीच ती खानीमा अनुसन्धान गरेको थियो। इन्स्टिच्यूटले त्यस अवधिमा खानीमा पाइएका चमेराहरूबाट कोरोना भाइरसको नमूना संकलन गरेको साँचो हो।

तर, गत वर्ष अनुसन्धाताहरूले खानीमा काम गर्ने मजदुरको रगतको नमूना संकलन गरी सार्स–सिओभी–२ को एन्टिबडी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। यसको मतलब उनीहरूमा श्वासप्रश्वासको समस्या देखिनुको कारण सम्भवतः कोभिड–१९ थिएन। 

वुहान प्रयोगशालामा अनुसन्धान गर्दा वैज्ञानिकहरूले चमेराका नमूनाबाट करिब तीन सय प्रकारका कोरोना भाइरस फेला पारेका थिए। तीमध्ये झन्डै एक दर्जनको पूर्ण वा आंशिक जीवाणुगत गुण पत्ता लगाउन उनीहरू सफल भएका थिए। ती कुनै पनि कोरोना भाइरस सार्स–सिओभी–२ सँग मिल्दोजुल्दो नभएको वैज्ञानिकहरूले बताएका छन्। 

यस वर्ष सुरूमा विश्व स्वास्थ्य संगठनको टोलीले कोभिड–१९ महामारीको उत्पत्तिबारे अनुसन्धान गर्दा तीन किसिमका कोरोना भाइरस परीक्षण गरेको थियो। ती कोरोना भाइरस पनि सार्स–सिओभी–२ सँग धेरै मिल्दोजुल्दो नभएको पाइएको छ।

सरूवारोग विशेषज्ञहरू चमेराबाट संकलन गरिएका कोरोना भाइरसको नमूनालाई जस्ताको तस्तै राख्न कठिन हुने बताउँछन्। उनीहरूका अनुसार जनावरमा पाइने भाइरसको संख्या तुलनात्मक कम हुन्छ। जनावरको दिसा, थुक वा रगतबाट नमूना संकलन गरेपछि त्यसको स्वरुप छिट्टै नाश हुने हुँदा भाइरसको प्रकार यकिन गर्न चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ।

त्यसैले, सार्स–सिओभी–२ भाइरस पनि दक्षिणी चीनको खानीबाटै ल्याइएको हो भनेर ठोकुवा गर्न प्राविधिक रूपले कठिन छ। यसलाई प्रमाणित गर्ने बलियो आधार नभए पनि यो सम्भावना पूर्णतया नकार्न भने सकिन्न।

यो भाइरस प्रयोगशालाबाट फैलिएको हो कि होइन भनी प्रमाणित गर्ने अबको कदम के?

अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना अनुसन्धान निकायहरूलाई ९० दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएका छन्। यो अनुसन्धानले कोभिड–१९ को उत्पत्तिबारे थप प्रमाण बाहिर ल्याउन सक्छ।

यसअघि अमेरिकी अनुसन्धान निकायहरूको हवाला दिँदै कोभिड–१९ को उत्पत्तिसँग जोडिएको एउटा घटना सार्वजनिक भएको थियो। अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार चीनमा कोभिड–१९ को पहिलो संक्रमण फेला पर्नुअघि सन् २०१९ नोभेम्बर महिनामै वुहान प्रयोगशालाका तीन जना कर्मचारी बिरामी परेका थिए। ती कर्मचारी बिरामी पर्नुलाई कोभिड–१९ सँग जोडेर हेरिए पनि पुष्टि भने भएको छैन।

वुहान प्रयोगशालाका अनुसन्धाताले ती कर्मचारीको सार्स–सिओभी–२ को एन्टिबडी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बताएका छन्। यो रिपोर्ट साँचो हो भने वुहान प्रयोगशालाका कर्मचारीमा सन् २०२० जनवरीअघि नै सार्स–सिओभी–२ संक्रमण भएको थियो भन्ने शंका पुष्टि हुँदैन।

गत साता अमेरिकी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकार एन्टनी फौचीले चिनियाँ अधिकारीहरूसँग वुहान प्रयोगशालाका कर्मचारीको अस्पताल रेकर्ड सार्वजनिक गर्न आग्रह गरेका थिए। कर्मचारीको रगतको नमूना, चमेराबाट संकलन गरिएको कोरोना भाइरसको नमूना, प्रयोगशालाको रेकर्ड तथा हार्डड्राइभहरू सार्वजनिक गर्न पनि चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिँदै आएको छ। चीनले अहिलेसम्म यस्तो आग्रह स्वीकार गरेको छैन।

चीनको वैदेशिक मामिला मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी प्रयोगशालाहरूमाथि नै अनुसन्धान गर्नुपर्ने बताएका छन्। अमेरिकाका केही व्यक्तिमा ‘भाइरसको उत्पत्तिबारे गम्भीर वैज्ञानिक अध्ययन गर्न कुनै रूचि नभएको वा उनीहरूलाई तथ्यप्रति कुनै चासो नभएको’ प्रवक्ता लिजियनको भनाइ छ।

यो अवस्थामा कोभिड–१९ महामारीको उत्पत्तिबारे यकिन जानकारी बाहिर आउन अझै लामो अनुसन्धानको खाँचो भएको भाइरल विशेषज्ञहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.