Shadow

झापा विद्रोहका लडाकुले भोगेको पीडा

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 28
  •  
  •  
  •  
  •  
  •  

०२८ सालको झापा विद्रोह नेपाली क्रान्तिकारी आन्दोलनको इतिहासमा महत्वपूर्ण भागको रूपमा हेरिन्छ । त्यही आन्दोलनले खड्गप्रसाद ओली (हाल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली) देखि राधाकृष्ण मैनाली, सीपी मैनालीलगायत धेरै नेताहरूको राजनीतिक यात्रालाई स्थापित गर्यो । झापा विद्रोहमा उनीहरूसँग मानकुमार तामाङ पनि एक लडाकु थिए । उनी पनि नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै कठोर जेल जीवन बिताएका थिए । पञ्चायतको जगजगीको बेला ओली, मैनालीलगायत नेताहरूको निर्देशनमा निरङ्कुश शासन व्यवस्था, पद्धति र जमिन्दार, शोषक सामन्ती विरुद्ध लड्दा २०२९ सालमा पक्राउ परेर तामाङले १७ वर्ष कठोर जेलमा बस्नु प¥यो । ०४६ सालको शोषक सामन्ती देख्ने र सबैलाई सफाया गर्नसके समानता हुने, दुःखी गरिबको पनि घरजग्गा, जमिन हुने सोचले उनी झापा विद्रोहमा लडाकुका रूपमा सहभागी भएर तत्कालीन कम्युनिष्ट सिद्धान्तलाई अँगाले । तर, पञ्चायती व्यवस्थाका शासकले पक्राउ गरेर जेलमा लगाएपछि उनको उर्वर समय त्यतिकै खेर गयो । ०४६ सालपछि मात्र उनी अरू नेताहरूसँंगै जेलमुक्त भए ।

पञ्चायत ढलेसँंगै उनीसँग जेलजीवन बिताएका धेरै नेताहरू देशको राजनीतिमा एक छत्र राज गर्ने शासकका रूपमा स्थापित भए । तर, उनी र उनको परिवार भने जीवनभर अभावै अभाव, दुःखै–दुःख, पीडैपीडामा छट्पटिइरहे । यसबीचमा भनसुन र चाकडी गर्नेहरूले पद, प्रतिष्ठा  र पैसा कमाए, तामाङसँंगै जेल बसेर निस्केका कम्युनिष्ट नेताहरूको आशीर्वादले । तर, उनले न चाकडी गरे, न त कसैलाई भनसुन गर्न नै लगाए । उनका सहयात्रीहरूले पनि भुसुक्कै बिर्सिए । तामाङले अभाव र पीडाका बीच सुकुम्बासी जीवन बिताइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष पटक–पटक प्रधानमन्त्री भए । सिपी मैनाली, राधाकृष्ण मैनालीहरू पटक–पटक मन्त्री भए । झापा विद्रोहमा आफूसँंगै जेल गएकाहरूले जेलबाट निस्केपछि नेपाली राजनीतिको अर्को अध्याय नै सुरु गरे तर, तामाङले आफ्नो जीवनको अध्यायलाई घिसार्दै बसे । अर्जुनधारा नगरपालिका–१ मा सुकुम्बासी जीवन बिताइरहेका उनलाई यतिबेला काङ्ग्रेस विचारधाराका केही व्यक्तिहरूले एउटा घर निर्माण गरिदिएर हस्तान्तरण गरिदिएका छन् । राजनीतिमा लाग्दाको अँध्यारो पाटो उनका लागि एउटा जेल जीवन भएको छ भने अर्को त्योभन्दा झन् अँध्यारो पाटो आफ्नै नेताहरूको राजनीतिक विचलन भएको छ । उनले भनेका पनि छन्, ‘जति लडे पनि नहुँदो रहेछ । अहिले नेताहरूको बिलासिता जीवनशैलीले यस्तै अनुभव भोग्दैछु । हरेक किसानले बस्ने घर पाउन् भनेर आन्दोलन गरियो । तर, आफ्नै घर भएन ।’ राजनीतिबाट अनेकौं हण्डर खाएका तामाङले परिवारमा पनि उस्तै नमीठो हण्डर खाएका छन् । ०४९ मा उनकी पहिलाकी श्रीमती शोभाको ब्लड क्यान्सर हुँदा आर्थिक अभावले उपचार गर्न नसकेर निधन भयो । श्रीमतीको निधनपछि फूलमाया तामाङसँग दोस्रो विवाह गरेपछि एक छोरा र एक छोरी भए । छोरीको पनि दुई वर्षअघि निधन भयो । पैसा कमाउन दशकअघि भारतको कोइलाखानी गएका छोराको अहिलेसम्म अत्तोपत्तो छैन ।

तामाङको राजनीतिक जीवन, जेल जीवन, ०४६ सालको जनआन्दोलन, ०६२–६३ को आन्दोलनपछिको अवस्था र व्यवस्थालाई मिहिनरूपमा विश्लेषण गर्ने हो भने राजनीतिको प्रतिफल सोझासिधा, सामान्य जनतालाई प्राप्त नभएर अलि चतुर, बेइमान, षड्यन्त्रकारी, अवसरवादी नेता कार्यकर्तालाई मात्र प्राप्त भएको छ । पञ्चायत ढल्यो, त्यसको प्रतिफल तिनैहरूले मात्र लिए, जो सत्तामा पुगेर शासक बने । बहुदलीय व्यवस्था पनि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि तिनै प्रवृत्तिका नेता कार्यकर्ताहरूको हालीमुहाली छ । मुठ्ठीभरका नेता कार्यकर्ताका लागि मात्र लोकतान्त्रिक गणतन्त्र आएको छ । तर, चाकडी, चाप्लुसी, पदलोलुप, अवसरवादी प्रवृत्ति नभएका तामाङजस्ता लाखौं जनताका लागि व्यवस्था फेरियो तर, अवस्था जस्ताको तस्तै छ । व्यवस्थाअनुसारको अवस्था कायम गर्नका लागि नेपाली राजनीतिक दलका नेता कार्यकर्ताहरूमा देखिएको विचलनको उपचार हुन जरुरी छ । तब मात्र झापा विद्रोहका लडाकु तामाङजस्तो जीवनभर अभाव र पीडामा नेपाली जनता बस्नु पर्ने दिनको अन्त्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.